काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)काे कार्यशैली र प्रवृत्तिकाे आलोचना गरेका छन् ।
उनले प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री खोज्दा समेत नभेटिने अवस्था बनेको भन्दै बालेन सरकारको जिम्मेवारीबोध कमजोर भएको आरोप लगाएका हुन् ।
‘प्रतिपक्षीले संसदभित्र खोज्दाखेरी प्रधानमन्त्री नभेटिने अवस्था छ,’ उनले शनिबार माेबाइल व्यवसायी महासंघकाे महाधिवेशनमम भने, `नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा समेत नेतृत्वले स्वामित्व ग्रहण गर्न सक्दैन भने उहाँहरू आफ्नै भूमिकामा स्पष्ट हुनुहुन्न जस्तो देखिन्छ ।´
उनले राष्ट्रपतिमार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रम मुलुकको एक वर्षे मार्गचित्र भए पनि त्यसबारे बालेन सरकार गम्भीर नदेखिएको टिप्पणी गरे । `जहाँ मुलुकको एक वर्षको खाका तयार गरिएको हुन्छ, त्यसमा नेतृत्व नै उपस्थित र जिम्मेवार नदेखिनु चिन्ताजनक विषय हो,´आङ्देम्बेले भने।
आङ्देम्बेले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम मध्यम तथा उच्च वर्ग केन्द्रित हुन भएको भन्दै असन्तुष्टि जनाए । उनले भने, `गरिब, मजदुर र किसानमुखी कार्यक्रम सरकारले ल्याउनुपर्नेमा त्यसाे गरिएन, मध्यम र उच्च वर्गलाई लाभ हुने बजेट ल्याउने देखिएकाे छ ।´
नेता आङ्देम्बेले प्रमुख विपक्षी कांग्रेसले बालेन सरकारसँग परिणाम खाेजिएकाे बताए । `हामी सरकारसँग परिणाम खोजिरहेका छौं,´ उनले भने, `विरोधका लागि विरोध गर्ने शैली आजको प्रमुख विपक्षीको होइन । राज्य सच्याउन सरकार सकारात्मक हुनुपर्छ ।´

प्रतिक्रिया