चुनाव जिते पनि हारे पनि कांग्रेस देशको राष्ट्रिय शक्ति हो – गगन

चुनाव जिते पनि हारे पनि कांग्रेस देशको राष्ट्रिय शक्ति हो – गगन


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति रहेको दाबी गरेका छन् ।

प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहास, वैचारिक नीति र भूमिकाले कांग्रेस राष्ट्रिय शक्ति रहेको दाबी गरे ।

थापाले भने, “नेपाली कांग्रेस राष्ट्रिय शक्ति हो । राष्ट्रिय पार्टी इलेक्सनको रिजल्टको मापनले गरे पनि इतिहास, वैचारिक नीति र भूमिकाले गर्छ । मेरा लागि निर्वाचन जित्दा, हार्दा, निर्वाचन नलड्दा राष्ट्रिय शक्ति नै थियो र अहिले पनि छ ।”

क्षणिक लाभ र हानिका कारणले कांग्रेसले निर्णय नगर्ने उनले बताए ।

उनले भने, “राष्ट्रिय शक्ति भएकोले हेडलाइनमा के निस्कियो भनेर त्यसलाई पछ्याउँदै हिँड्ने र क्षणिक लाभहानिका लागि प्रभावित भएर निर्णय गर्ने पनि होइन । कहिलेकाहीँ हार्न तयार हुने हो, राष्ट्रिय राजनीतिमा उठेका विषयमा प्रतिक्रिया व्यक्त गर्न भन्दा पनि त्यसलाई दिशा दिने हो । सम्हाल्छ कसले? राष्ट्रिय शक्ति हो भने कांग्रेस छ भन्ने कांग्रेसलाई मत नहाल्नेलाई पनि लाग्नुपर्छ ।”