काठमाडौं । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको मुद्दामा गठित विज्ञ टोलीले ‘एक्सपर्ट रिपोर्ट’ तयार गरी अदालतमा बुझाउने प्रक्रिया अघि बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले इरानको स्थानीय अदालतमा विचाराधीन उक्त मुद्दाको निरूपण त्यहाँकै कानुनअनुसार हुने भन्दै झाको निष्पक्ष सुनुवाइका लागि उपलब्ध सबै माध्यमबाट निरन्तर कूटनीतिक पहल भइरहेको जनाएको हो ।
जारी विज्ञप्तिमा मन्त्रालयले झा अझै पनि इरानको बन्दर अब्बासस्थित कारागारमा थुनामै रहेको स्पष्ट गरेको छ । उनलाई इरानको Qeshm Island मा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा जनवरी २०२६ को सुरुमा पक्राउ गरिएको थियो ।
मन्त्रालयका अनुसार १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल Shahram Shantiaee ले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको जानकारी पठाएका थिए । सोही सूचनाका आधारमा मन्त्रालयले झा रिहा भएको अनौपचारिक जानकारी सार्वजनिक गरेको थियो ।
त्यसपछि परराष्ट्र शिशिर खनालले समेत सामाजिक सञ्जालमार्फत झा रिहा भएको विषय उल्लेख गरेका थिए । तर, केही दिनपछि प्राप्त जानकारीअनुसार झा रिहा नभएको र अदालतले मुद्दामा ‘एक्सपर्ट रिपोर्ट’ माग गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उक्त अनौपचारिक सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योल र असुविधाप्रति क्षमायाचना पनि गरेको छ । साथै, झाका परिवारलाई वास्तविक अवस्थाबारे जानकारी गराइसकिएको जनाएको छ ।

प्रतिक्रिया