मेरो कारण पार्टीका एक जनाको पनि शिर निहुरिने अवस्था आउन दिन्नँ – सभापति थापा

मेरो कारण पार्टीका एक जनाको पनि शिर निहुरिने अवस्था आउन दिन्नँ – सभापति थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एक जनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् ।

सोमबार काभ्रेको धुलिखेलमा कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सभापतिको हैसियले आफूले गर्ने कुनै पनि निर्णयका कारण पार्टीका एक जनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका हुन् ।

उनले जिम्मेवारीमा बसेको कुनै अर्को नेताका कारण पार्टीका कसैलाई पनि समस्या हुने अवस्था आए सहेर नबस्ने स्पष्ट पारे । सभापति थापाले पार्टी सदस्यता अद्यावधिक गर्नै दिन्न भन्ने केहि पार्टीका नेताहरुले भनेको कुरा आफुले बुझ्न नसकेको धारणा राखे ।

त्यस्तै, सभापति थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले मुलुकलाई संवैधानिक व्यवस्था अनुसार अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए । वर्तमान सरकार संख्याको आधारमा बरालिने सम्भावना रहेको भन्दै उनले संविधान भन्दा बाहिर गएर सरकार चल्न थाले संविधानको दायराभित्र ल्याउने काम पनि कांग्रेसकै भएको उल्लेख गरे ।

कांग्रेस प्रतिपक्षी भएकै कारण प्रतिक्रिया दिएर भाग्ने सुविधा नरहेको उनले बताए ।