सत्तापक्ष नयाँ प्रधान न्यायाधीशको आजै संसदीय अनुमोदन, शपथ र पदबहालीको तयारीमा

सत्तापक्ष नयाँ प्रधान न्यायाधीशको आजै संसदीय अनुमोदन, शपथ र पदबहालीको तयारीमा


काठमाडौं । नयाँ प्रधान न्यायाधीश डा। मनोज शर्मालाई आजै पदबहाली गराउने गरी तयारी भएको छ । सर्वोच्च अदालतले सरकारलाई असहयोग गर्ने नीति लिएको बुझाइका साथ सत्तापक्षले हत्पत्तिमा पदबहाली गराउन लागेको हो । संवैधानिक परिषद्ले ३३ औँ प्रधान न्यायाधीशमा वैशाख २४ गते सिफारिस गरेका डा। शर्माविरुद्धका संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् ।

समितिमा मंगलबार बिहानैबाट सुनवाइ शुरू भइसकेको छ । सत्तारूढ रास्वपाका एक नेताका अनुसार शर्मालाई आजै अनुमोदन गराइने र भोलि बुधबारदेखि मुद्दाका कजलिष्ट तोक्नसक्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । प्रधान न्यायाधीश अनुमोदन भएपछि त्यसको जानकारी संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाउनुपर्छ ।

उक्त सूचनाका आधारमा राष्ट्रपति कार्यालयले शपथको तालिका बनाउने प्रचलन छ । राष्ट्रपति कार्यालयसँग आजै ६ बजेभित्र शपथ गराउन आवश्यक समन्वय भइरहेको ती नेताले दाबी गरे । शपथलगत्तै डा।शर्मा आजै बेलुकी सर्वोच्च अदालतमा बहाली हुने उनको भनाइ छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले भने शपथ ग्रहणबारे अहिलेसम्म कुनै पनि खबर नआएको बताएका छन् ।