काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति Donald Trump र इजरायली प्रधानमन्त्री Benjamin Netanyahu को हत्या गर्नेलाई ४३.५ मिलियन पाउन्ड इनाम दिने कानुन ल्याउने तयारी गरेको छ ।
इरानको संसद्अन्तर्गत राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष इब्राहिम अजीजीले “इस्लामिक गणतन्त्रका सैन्य तथा सुरक्षा निकायको प्रतिकारात्मक कारबाही” शीर्षकको विधेयक तयार भइरहेको बताए । उक्त विधेयक पारित भए ट्रम्प वा नेतन्याहूको हत्या गर्ने व्यक्ति वा समूहलाई औपचारिक रूपमा इनाम दिने व्यवस्था हुनेछ ।
इरानले गत फेब्रुअरी २८ मा भएको अमेरिकी–इजरायली आक्रमणमा सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गर्दै त्यसको जिम्मेवार ट्रम्प, नेतन्याहू र अमेरिकी सेन्ट्रल कमाण्डका एडमिरल ब्राड कुपरलाई ठहर गरेको छ ।
राष्ट्रिय सुरक्षा आयोगका अर्का सदस्य महमुद नबाभियनले पनि संसद्ले चाँडै “ट्रम्प र नेतन्याहूलाई नर्क पठाउने” व्यक्तिलाई पुरस्कार दिने प्रस्तावमा मतदान गर्ने बताएका छन् ।
यसअघि पनि इरानी अधिकारीहरूले ट्रम्पविरुद्ध धम्की दिँदै आएका थिए । “ब्लड कोभेनेन्ट” नामक अभियानमार्फत ट्रम्पको हत्या गर्न २ करोड ७० लाख डलरभन्दा बढी रकम संकलन भएको दाबी गरिएको छ ।
यता, अमेरिका र इरानबीच पाकिस्तानमार्फत भइरहेको शान्ति वार्ता भने जारी रहेको बताइएको छ । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार इरानले अमेरिकालाई नयाँ शान्ति प्रस्ताव बुझाएको छ, तर अमेरिकी अधिकारीहरूले त्यसलाई “उल्लेखनीय सुधार नभएको” बताएका छन् ।
अमेरिकी पक्षले इरानको आणविक कार्यक्रमबारे “गम्भीर वार्ता” चाहेको जनाएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले लेखेको छ, “यदि वार्ता भएन भने बममार्फत संवाद हुनेछ, जुन दुःखद हुनेछ ।”

प्रतिक्रिया