काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता बलियो आधार हुन नसक्ने बताएका छन् ।
मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा डा. शर्माले यस्तो तर्क गरेका हुन् ।
प्रधानन्यायाधीशको पद कुनै बढुवा नभई एक विशिष्ट संवैधानिक नियुक्ति भएको उनको भनाइ छ ।
शर्मा भन्छन्, “प्रधानन्यायाधीशको पद बढुवा होइन, यो एक संवैधानिक नियुक्ति हो । त्यसैले नियुक्ति प्रक्रियामा केवल वरिष्ठताको मात्र बलियो आधार हुन सक्दैन ।”
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले योग्यताको आधारलाई जोड दिँदै कामु प्रधानन्यायाधीश सपना मल्ललाई पाखा लगाउँदै प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेको थियो ।
अहिले शर्माको संसदीय सुनुवाइ जारी छ । समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।
समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गरेका थिए ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सात वटा उजुरी परेको छ । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया