एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति सम्झौता स्वीकार नगरे वासिङ्टन जुनसुकै बेला थप घातक सैन्य आक्रमणमा उत्रने चेतावनी दिएका छन् ।
युद्धविरामको छ साता बित्दा पनि शान्ति वार्तामा प्रगति नभएपछि स्थिति फेरि युद्धको सँघारमा पुगेको उल्लेख गर्दै ट्रम्पले इरानबाट ‘सही जवाफ’ पाउन अमेरिका अझै केही दिन मात्र पर्खन तयार रहेको स्पष्ट पारेका हुन् ।
जोइन्ट बेस एन्ड्रुजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले स्थिति निकै संवेदनशील मोडमा रहेको र यो जुनसुकै बेला उग्र बन्न सक्ने बताए। ट्रम्पले यसै साता इरानका छिमेकी खाडी मुलुकहरूको अनुरोधमा आफू आक्रमणको आदेश दिन बाट एक पछि हटेको खुलासा समेत गरे । इरानलाई आणविक हतियार बनाउन नदिने आफ्नो दृढता दोहोर्याउँदै उनले सम्झौता नभए कठोर कदम चाल्ने चेतावनी दिए ।
इरानले अमेरिकी धम्कीको कडा प्रतिवाद गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले एक विज्ञप्ति जारी गर्दै इरानमाथि पुनः आक्रमण गरिए यस पटक क्षेत्रीय युद्धको दायरा यो क्षेत्रभन्दा बाहिर फैलिने चेतावनी दिएको छ ।
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सामाजिक सञ्जाल एक्समा लेख्दै इरान वार्ताका लागि खुला रहे पनि दबाब र बल प्रयोग गरेर आत्मसमर्पण गराउन खोज्नु भ्रम मात्र हुने स्पष्ट पारेका छन् । इरानले यसै साता अमेरिकालाई नयाँ प्रस्ताव पठाएको छ, जसमा हर्मोज (Strait of Hormuz) मा आफ्नो नियन्त्रण, युद्धको क्षतिपूर्ति, प्रतिबन्ध फुकुवा र अमेरिकी सेना फिर्ता हुनुपर्ने पुराना मागहरू नै दोहोर्याइएको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता इरानले हर्मोजमा अन्य जहाजको आवागमन बन्द गरेको थियो, जसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा इतिहासकै ठूलो संकट पैदा भएको छ । बुधबार मात्रै करिब ४० लाख ब्यारेल कच्चा तेल बोकेका दुईवटा विशाल चिनियाँ ट्याङ्कर सो जलक्षेत्रबाट बाहिरिएका छन् ।
ट्रम्पका लागि यो युद्ध अन्त्य गर्न चौतर्फी दबाब छ, किनभने आउँदो नोभेम्बरमा हुने कंग्रेस चुनावअघि अकासिँदो इन्धनको मूल्यले उनको लोकप्रियता घटाएको छ ।

प्रतिक्रिया