लुम्बिनीले आयोजना बैंकका योजना मात्र बजेटमा समेट्ने

लुम्बिनीले आयोजना बैंकका योजना मात्र बजेटमा समेट्ने


सिद्धार्थनगर । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने नीति अघि सारेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा आज सम्पन्न प्रदेश समन्वय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोटमा प्रदेश सरकार ‘निर्मम’ बन्ने बताए ।

उनले आयोजना बैंकको अवधारणालाई कार्यविधिमार्फत अघि बढाइएको उल्लेख गर्दै विधिअनुसार मात्र योजना छनोट गरिने स्पष्ट पारे । पूर्वाधारतर्फ ३० लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेश सरकारले नसमेट्ने र अन्य क्षेत्रका १० लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेशस्तरमा नराखिने उनको भनाइ थियो ।