काठमाडौं । नेकपा एमालेको दोस्रो दिन बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ५ जना सचिवले धारणा राखेका छन् ।
एमाले स्रोतका अनुसार बैठकमा एमाले महासचिव पोखरेल र उपमहासचिव योगेश भट्टराईले पनि पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्पमा जानुपर्ने धारणा राखेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकमा उनीहरूले धारणा राखेको उपमहासचिव लेखराज भट्टले सार्वजनिक जानकारी दिए । ‘आफूलाई लागेको अनुभूतिहरू अनुभव सबै राख्नुभएको छ,’ उनले भने ।
भोलि ४ जना सचिवले धारणा राखेपछि प्रस्तावित ११ बुँदे एजेन्डामा छलफल अघि बढ्ने उनको भनाइ छ ।
त्यस्तै उपमहासचिव भट्टले पार्टीको सचिवालय बैठकमा भएका विषयहरू मिडियामा अतिरञ्जित ढंगबाट सार्वजनिक गरिएको बताएका छन् ।
शुक्रबारको बैठकमा धारणा राखेका ४ जना उपाध्यक्षले अध्यक्ष ओलीले पार्टी नेतृत्वमा राजीनामा दिनुपर्ने विषय उठाएका थिए । सोही विषयमा सार्वजनिक खबरलाई इंगित गर्दै भट्टले अतिरञ्जित गरिएको आरोप लगाएका हुन् ।

प्रतिक्रिया