बरहथवा । उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताइन् । छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उहाँले मधेसले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गरिन् ।
“छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो”, उपसभामुख ठाकुरले भनिन् ।
बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन ल्याउने उनको भनाइ थियो । पछिल्लो समय किशोरकिशोरीले घर छाडेर हिँड्ने गरेको कुरातर्फ सङ्केत गर्दै उनले अभिभावकको सरसल्लाहलाई गलत सोचेर विद्रोह नगर्न सुझाव दिइन् ।
चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि २० वर्ष पार गरी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद रु ५० हजारसहित सम्मान र कक्षा १२ सम्म पढ्ने छोरीहरूलाई पठनपाठमा प्रोत्साहन गर्ने उद्देश्यसहित एकमुष्ट नगद रु ११ हजार दिँदै आएको छ ।

प्रतिक्रिया