एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन गरेको आह्वान पाकिस्तानले अस्वीकार गरेको छ ।
ट्रम्पले प्रस्ताव गरेको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो ‘मौलिक विचारधारा’ सँग मेल नखाने भन्दै अस्वीकार गरेको हो । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारे ।
पाकिस्तानी सञ्चारमाध्यम समा टिभीसँगको अन्तर्वार्तामा उनलाई अमेरिकी दबाब र कूटनीतिक सङ्केतपछि पाकिस्तान अब्राहम सम्झौतामा हस्ताक्षर गर्ने सम्भावनाबारे प्रश्न गरिएको थियो । जवाफमा आसिफले आफ्नो व्यक्तिगत तथा राजनीतिक धारणा प्रस्ट पार्दै पाकिस्तानले आफ्नो वैचारिक आधारसँग टकराव हुने कुनै पनि व्यवस्थामा सहभागी हुन नहुने बताएका छन् ।
इजरायलसँग सम्बन्ध विस्तारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनले ती पक्षसँग दीर्घकालीन भरोसाको आधार निर्माण गर्न कठिन हुने तर्क गरेका छन् । उनले ‘जसको शब्दलाई एक दिन पनि विश्वास गर्न नसकिने पक्षसँग कसरी सहकार्य सम्भव हुन्छ ?’ भन्ने प्रश्नसमेत गरेका छन् ।
रक्षामन्त्री आसिफले पाकिस्तानको पासपोर्ट नीतिलाई पनि आफ्नो तर्कको आधार बनाए । उनका अनुसार पाकिस्तानको पासपोर्टमै इजरायललाई मान्यता नदिने राष्ट्रिय नीति झल्किन्छ । उनले पाकिस्तानको पासपोर्टमा इजरायलको नामसमेत उल्लेख नगरिएको उल्लेख गर्दै यसले इस्लामाबादको संस्थागत नीति र दीर्घकालीन दृष्टिकोण स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने बताए ।
यसअघि सोमबार स्थानीय समयअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानसँगको सम्भावित सहमतिलाई मध्यपूर्वको व्यापक राजनीतिक पुनर्संरचनासँग जोड्दै धेरै मुस्लिम र अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गरेका थिए । उनले इरानसँगको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ उल्लेख गर्दै क्षेत्रीय तहमा नयाँ कूटनीतिक ढाँचा निर्माणको सङ्केत गरेका थिए ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा सार्वजनिक गर्नुभएको लामो सन्देशमा प्रस्तावित व्यवस्थालाई मध्यपूर्वका लागि ‘ऐतिहासिक घटना’ बन्न सक्ने दाबी गरेका छन् । उनले साउदी अरेबिया, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनलगायत मुलुकहरूलाई सामूहिक रूपमा अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरेका थिए ।
उनले इरानसँगको संवाद सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै सबै पक्षलाई समेट्ने ठूलो सहमतिमा पुग्ने अवस्था रहने, सहमति नभए सम्झौता नै नहुने चेतावनी दिएका थिए । ट्रम्पका अनुसार कूटनीतिक प्रयास असफल भए क्षेत्र फेरि युद्ध र सैन्य भिडन्ततर्फ फर्किन सक्ने जोखिम रहनेछ र त्यो अवस्था पहिलेभन्दा अझ व्यापक तथा शक्तिशाली हुन सक्नेछ ।
ट्रम्पले इरानसँग सहमति सम्पन्न भएपछि साउदी अरेबिया र कतार तुरुन्तै अब्राहम सम्झौतामा सहभागी हुनुपर्ने धारणा राखेका छन् । उनले अन्य देशहरूले पनि त्यसपछि सोही बाटो पछ्याउने अपेक्षा व्यक्त गरेका थिए । अझै अगाडि बढ्दै उनले अमेरिकासँगको वार्ता सफल भए भविष्यमा इरान स्वयं पनि यही ढाँचाको हिस्सा बन्न सक्ने भनेका थिए ।

प्रतिक्रिया