काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने नेपाल भ्रमणमा आउने भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वकमा चैत १३ मा सरकार गठन भएयता नेपाल आउने सबैभन्दा वरिष्ठ तहकी कूटनीतिज्ञ रोजर्स जेठ १६ गते नेपाल आइपुग्ने भएकी हुन् ।
उनको भ्रमण तालिका सार्वजनिक गरिएको छैन । यद्यपि उनी जेठ ६ गते काठमाडौंस्थित अमेरिकी दूतावास नेपालका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथा आरोहण गरेको उपलक्ष्यमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुने जनाइएको छ । हार्कर नेपालमा कार्यरत कूटनीतिज्ञ सगरमाथा आरोहण गरेको पहिलो कीर्तिमान बनाएको अमेरिकी दूतावासले यसअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सोही उपलक्ष्यमा दूतावासले उनको सम्मानमा जेठ १७ गते सम्मान गर्न विशेष समारोह आयोजना गरेको छ । उनी उक्त कार्यक्रममा प्रमुख अतिथि हुनेछन् ।
शाह नेतृत्वको सरकार गठन भएयता यसअघि उच्च तहकै दुई जना अमेरिकी कूटनीतिज्ञले नेपाल भ्रमण गरिसकेका छन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर वैशाख ७ मा तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका थिए ।
उनले रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्ले र निजी क्षेत्रका व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए ।
त्यसको एक सातापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोर वैशाख १७ मा काठमाडौं आएका थिए । उनले पनि परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेट गरेका थिए ।
दुवै जना अमेरिकी कूटनीतिज्ञसँग प्रधानमन्त्री शाहले भेट गरेका थिएनन् । यस पटक उपविदेशमन्त्री रोजर्सले पनि शाहलाई भेट्ने बारेमा निश्चित भइसकेको छैन ।

प्रतिक्रिया