भारतीय प्रधानमन्त्री मोदीसँग भेट्न भारत जाँदै रवि लामिछाने

भारतीय प्रधानमन्त्री मोदीसँग भेट्न भारत जाँदै रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरलगायत उच्चस्तरीय व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यस्तै, भारतमा बसोबास गर्दै आएका नेपालीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ। नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने उक्त कार्यक्रम जेठ २१ गते दिउँसो ३ बजे नयाँ दिल्लीस्थित लाजपत क्षेत्रमा सञ्चालन हुने जनाइएको छ।

रास्वपाका अनुसार कार्यक्रममार्फत भारतमा रहेका नेपाली समुदायका समस्या, सुझाव र अपेक्षाबारे छलफल गरिनेछ। साथै, नेपाल–भारत सम्बन्ध, नेपाली प्रवासी समुदायको भूमिका तथा समसामयिक राजनीतिक विषयमा पनि अन्तरक्रिया हुने बताइएको छ। लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा प्रवासी नेपाली समुदायसँगको संवादलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।