असन्तुष्टपक्षका दिवानसिंह विष्टलेले मागे अर्थसहित दुई मन्त्रालय

असन्तुष्टपक्षका दिवानसिंह विष्टलेले मागे अर्थसहित दुई मन्त्रालय


धनगढी । सुदूरपश्चिम कांग्रेसभित्रको शक्ति संघर्ष बढ्दै गएपछि विवाद साम्य पार्न पार्टीको केन्द्रीय समिति इन्ट्री भएको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध भइरहेको मोर्चा मत्थर नहुँदा पार्टी केन्द्रले नेताहरूलाई धनगढी पठाएको छ । केन्द्रीय सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य राजन केसीले हिजोदेखि सरकारपक्ष र विद्रोही समूहसँग लगातार छलफल गरिरहेका छन् । शुक्रबार भएको छलफलमा असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री परिवर्तनको माग पछाडिको कारण केन्द्रीय टोलीसमक्ष राखेका थिए ।

छुट्टै छलफलमा मुख्यमन्त्री शाहले भने आफू संसदीय दलभित्र अझै बहुमतमा रहेको दाबी दोहोर्‍याइरहेका थिए । स्रोतका अनुसार विवाद समाधानका लागि मन्त्री हेरफेरको विकल्पमा छलफलमा केन्द्रित भएको छ । प्रदेशसभा सदस्य दिवानसिंह विष्टले असन्तुष्टपक्षको नेतृत्व गरिरहेका छन् ।

विष्टपक्षले केन्द्रीय प्रतिनिधिसँग छलफल गर्दै दुई मन्त्री र दुई राज्यमन्त्री मागेको बताइएको छ । त्यसमा आर्थिक मामिलामन्त्री अनिवार्य शर्तका रूपमा अगाडि बढाइएको छ । कांग्रेस सुदूरपश्चिमभित्र अंकगणित रोचक छ । कांग्रेसका १८ सांसदमध्ये एक सांसद विदेशमा रहेकाले सक्रिय संख्या १७ छ । यसअघि मुख्यमन्त्री शाहलाई दल नेताबाट हटाउन ९ सांसदले हस्ताक्षर गरेका थिए । तर, डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि असन्तुष्टपक्षले बहुमत गुमाएको छ ।