धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाबारे डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।
विज्ञप्तिमा सामाजिक सञ्जालमा वन कर्मचारीले जानाजानी टेम्पो भीरबाट खसालेको भन्दै फैलाइएका सूचना भ्रामक भएको दाबी गरिएको छ। वन कर्मचारीहरूका अनुसार उक्त क्षेत्र चुरे अन्तर्गतको संवेदनशील वन क्षेत्र भएकाले लामो समयदेखि भइरहेका अवैध अतिक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन हुँदै आएको छ।
संयुक्त विज्ञप्तिअनुसार भीरबाट खसेको भनिएको जीएसए टेम्पो चल्ने अवस्थामा नभएको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेल्नसमेत कठिन हुने अवस्थामा रहेको थियो। उक्त टेम्पोलाई अतिक्रमित वन क्षेत्रमा पसल सञ्चालन गर्ने उद्देश्यले टहराको रूपमा प्रयोग गरिएको दाबी वन कर्मचारीहरूको छ।
वन कर्मचारीहरूले करिब एक महिनाअघि अतिक्रमण हटाउने क्रममा उक्त टेम्पोका सञ्चालक घनश्याम धामीलाई संरचना हटाउन निर्देशन दिएको र अन्य १० वटा छाप्रा हटाइए पनि उनले अटेर गरेको उल्लेख गरेका छन्। त्यसबेला वन कर्मचारीहरूले टेम्पोलाई धकेलेर घरसम्म पुर्याइदिएको तर पछि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको विज्ञप्तिमा जनाइएको छ।
जेठ २९ गते पुनः अतिक्रमण हटाउने क्रममा टेम्पो हटाउन आग्रह गर्दा सम्बन्धित व्यक्तिले अस्वीकार गरेको र वन टोलीले बल प्रयोग गरी पन्छाउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ। सोही क्रममा भिरालो भू–भाग र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खसेको दाबी वन कर्मचारीहरूको छ।
वन कर्मचारीहरूले कानुनबमोजिम गरिएको वन संरक्षण तथा अतिक्रमण नियन्त्रणको कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचारप्रसार नगर्न तथा घटनाको यथार्थ बुझ्न सबैसँग आग्रह गरेका छन्।
यस घटनापछि टेम्पो सञ्चालक पक्षले भने वन कर्मचारीले जानाजानी टेम्पो भीरबाट खसालेर आफ्नो जीविकोपार्जनको आधार नष्ट गरेको आरोप लगाउँदै न्यायको माग गरिरहेका छन्। घटनाबारे थप अनुसन्धान गर्न माग गरिएको छ ।

प्रतिक्रिया