धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको प्रदेश अधिवेशन आज सोमबार हुने भएको छ । धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान १० बजेदेखि अधिवेशन हुने रास्वपाले जनाएको छ ।
अधिवेशनमा सहभागी हुन प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधि धनगढी आइसकेका छन् । अधिवेशनको उद्घाटन सत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।
प्रदेश सभापतिमा निवर्तमान पार्टी सभापति इन्जिनियर प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनाल, सञ्चार उद्यमी जनकराज पन्त र कञ्चनपुर–१ का प्रतिनिधिसभा सदस्य जनकराज धामीले आकांक्षा व्यक्त गरेका छन् ।
रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति समेत रहेका विष्टलाई प्रधानमन्त्री बालेन्द्र शाह निकटकाको समर्थन रहेको चर्चा सुनिएको छ भने पन्त र धामीलाई सभापति रवि लामिछानेको समर्थन रहेको बताइन्छ ।
खनालको नाम भने सर्वसम्मतका रूपमा अघि सारिएको थियो ।
पहिले बालेन्द्र शाह निकट भए पनि अहिले केपी खनाललाई रवि लामिछानेसँग पनि जोडिने गरिन्छ । रास्वपाका एक नेताले भने, ‘सर्वसम्मत हुने अवस्थामा खनालको नाम अघि आउँछ भने निर्वाचन हुने सम्भावनामा विष्ट र पन्त तथा धामीमध्ये एक हुने अवस्था छ ।’
प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूपदेव शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ । यसअघि सभापति लामिछानेले उद्घाटन गर्ने बताइए पनि अहिले महामन्त्री शाहले उद्घाटन गर्ने कार्यक्रम भएको रास्वपाले जनाएको छ । शाह धनगढी आइपुगेका छन् ।

प्रतिक्रिया