रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित


धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन्। विष्ट ३५८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत पाए।

पार्टीको निर्वाचन व्यवस्थाअनुसार कुल सदर मतको ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पहिलो चरणमै निर्वाचित हुने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार विष्ट पहिलो चरणबाटै सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचित विष्ट यसअघि पनि सुदूरपश्चिम प्रदेश सभापतिको जिम्मेवारीमा थिए। उनका प्रतिस्पर्धी धामी प्रतिनिधिसभा सदस्य हुन्। उनी कञ्चनपुर–१ बाट निर्वाचित भएका थिए।

प्रदेश कार्यसमितिका लागि सभापतिसहित १६ भूगोलतर्फ तथा १५ खुला र समावेशीतर्फका सदस्य चयन गरिनेछ ।

सभापतिको पद पहिलो चरणमै टुंगिएपछि अब उपसभापति, महामन्त्री र दुई सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ। प्रदेश कार्यसमिति सदस्यहरूको निर्वाचन पनि दोस्रो चरणमा गरिने रास्वपाले जनाएको छ।