काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए ।
उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए ।
उनले भने,‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थियो तर विडम्बना त्यस्तो हुन सकेन । विद्वान अर्थमन्त्री टिभीमा देख्दा, बिगतमा वक्तव्यहरु सुन्दा केही गर्नुहुन्छ भन्ने लागेको थियो । तर जब बजेट सदनमा प्रस्तुत गर्नुभयो त्यसको सार चित्तबुझ्दो लागेन । बजेटमा समेटीएका विषयवस्तुभन्दा पनि अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई गम्भीर बनायो । जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली छ त्यो उहाँमा देखिएन ।’
सांसद महरले अर्थमन्त्री प्रतिपक्षप्रति हेपाहा र अपमानजनक शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उनले त्यस्तो व्यवहारले अर्थमन्त्रीको विद्वतामाथि नै प्रश्न खडा गरेको बताए ।
उनले अनुसार बजेटले दूरदराजका क्षेत्र, गरिब तथा विपन्न समुदाय, महिला, बालबालिका, दलित र पछाडि पारिएका वर्गका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेटलाई गैरजिम्मेवारको संज्ञा दिए ।
उनले भने,‘उहाँ प्रतिपक्षलाई हेप्ने र अपमान गर्ने तरिकाले प्रस्तुत हुनुभयो । त्यसले उहाँको विद्वतामाथि गम्भीर प्रश्न गरेको छ । बजेटले दुूरदराज देखेन । यसले गरिब तथा विपन्न समुदाय, महिला बालबालिका दलित देखेन । एक प्रकारले भन्ने हो भने बजेट गैरजिम्मेवार, हावादारी र भरिएको जस्तो बजेट ल्याउनु भयो । त्यसले दुःखी बनाउनुभयो । जनमतको घोर अपमान गर्नुभयो । म यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु अर्थमन्त्रीज्यूको ।’ उनले बजेट विभेदकारी भएको पनि टिप्पणी गरे ।

प्रतिक्रिया