काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ । बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णयसहित कार्यतालिका स्वीकृत गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको निर्वाचन नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित पारित गरेको पनि उनले बताए ।
लिङ्देनका अनुसार कार्यसम्पादन समितिबाट पारित भएका प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेश गरिनेछन् । केन्द्रीय समितिले ती प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिनेछ ।
महाधिवेशनको तयारीअन्तर्गत भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने र असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको काम सक्ने कार्ययोजना पनि प्रस्ताव गरिएको अध्यक्ष लिङ्देनले बताए ।
हालै राप्रपाका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरी नयाँ पार्टी स्थापना गरेका छन् ।

प्रतिक्रिया