बहुमतबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट

बहुमतबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । मन्त्रालयगत छलफल सकिएपछि सभामुख डीपी अर्यालले आजको बैठकमा विनियोजन विधेयक निर्णाथ पेस गरेका थिए । ध्वनीमतको विधिबाट बजेट पारित गरिएको हो । सभामुख अर्यालले बजेटको पक्षमा बहुमत भएको भन्दै विनियोजन विधेयक पारित भएको घोषणा गरे ।

आजको बैठकमा त्यसअघि बजेटमाथि सांसदहरूले उठाएका प्रश्नमा मन्त्रीहरूले जवाफ दिएका थिए । गत जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गरेका थिए ।

फागुन २१ गते भएको चुनावबाट रास्वपा सरकारमा आएपछि उसको यो पहिलो बजेटसमेत हो । प्रतिनिधिसभामा रास्वपाको प्रचण्ड बहुमत १८२ सिट छ भने एक जना स्वतन्त्र सांसद महावीर पुनसमेत सरकारमा सहभागी भएकाले सरकारको समर्थनमा १८३ सिट पुगेको छ ।