सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ – महामन्त्री शाह

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ – महामन्त्री शाह


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । महाधिवेशनन उद्घाटनस्थलमा आज साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुईतिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताए । उनले भने, “सबै एकै ठाउँमा आएरमात्रै दुईतिहाइ हासिल गर्न सम्भव भएको हो, सबै जना महाधिवेशनबाट पनि सम्मानित रूपमा आउने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ ।”

सहमतिको वातावरणका लागि सबै प्रयास भइराखेको उनले बताए । शाहले भने, “यद्यपि सहमति हुन सकेन भने पनि लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक माहोलबाट साथीहरू आउनुहुनेछ ।” पार्टी जीवनमा सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा महाधिवेशनलाई लिएको उनको भनाइ छ ।

चर्काे गर्मीमा पनि चितवनलाई महाधिवेशनका लागि किन रोजियो ? भन्ने प्रश्नमा महामन्त्री शाहले भने, “पार्टीको जन्मभएको ठाउँ, एउटा आन्दोलनबाट यो पार्टी स्थापना भयो, यो हाम्रो उद्गम भूमि पनि हो, सबै हिसाबले सोचेर चितवन रोजेका हौँ ।” महाधिवेशन पार्टीको पर्व भएको भन्दै उनले थपे, “महाधिवेशन हो, यो चितवनबाटै हुनुपर्छ भन्ने बुझाइले यही गर्ने निर्णय गर्यौँ ।”

भरतपुरमा यही असार ७–९ गतेसम्म हुन गइरहेको पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशनको उद्घाटनसहित आवश्यक पर्ने आधिकारिक कार्यक्रममा उपस्थित रहने उनको भनाइ थियो । महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिएका छन् ।