रास्वपा महाधिवेशनमा बालेन, रवि र गगन एकै मञ्चमा

रास्वपा महाधिवेशनमा बालेन, रवि र गगन एकै मञ्चमा


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज आइतबारदेखि चितवनको भरतपुरस्थित गेस्ट हाउस चउरमा सुरु हुँदैछ । दिउँसो १ बजे हुने उद्घाटन समारोहको तयारी पूरा भएको छ ।महाधिवेशनका लागि रास्वपा सभापति रवि लामिछानेसहित पदाधिकारी तथा प्रतिनिधिहरू केही दिनदेखि नै चितवनमा छन् । प्रधानमन्त्री बालेन शाह आइतबार भरतपुर पुगिसकेका छन् ।

रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई महाधिवेशनमा निम्ता गरेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहभागी हुने भएका छन् । नेपाली कांग्रेसबाट सभापति गगन थापा महाधिवेशनमा जाने भएका छन् । उनी मध्याह्न १२ः४५ बजे भरतपुर विमानस्थल अवतरण गर्ने छन् ।
नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली सहभागी हुने छन् । नेकपा (एकीकृत)बाट नेता वर्षमान पुन महाधिवेशनमा आउने भएका छन् । प्रचण्ड स्वास्थ्य कारणले आउन नसक्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रधानमन्त्री बालेनसँगै एउटै फ्लाइटमा चितवन पुगिसकेका छन् ।
श्रम संस्कृति पार्टी भने सहभागी नहुने भएको छ । अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा स्पष्ट नपारेकाले सहभागिता नजनाउने बताएका थिए ।
उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने र गगन थापा एकै मञ्चमा देखिने भएका छन् ।