लम्साललाई उपसभापति र शाहलाई महामन्त्री मनोनीत गर्ने सहमति

लम्साललाई उपसभापति र शाहलाई महामन्त्री मनोनीत गर्ने सहमति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी पदाधिकारी टीममा बालेन शाह समूहलाई थप स्थान दिन आन्तरिक गृहकार्य तीव्र पारेको छ । बालेन समूहबाट एक(एक जना उपसभापति र महामन्त्री मनोनीत गर्ने विषयमा उच्चस्तरमासहमति भएको नेताहरूले बताएका छन् ।

आम निर्वाचनअघि रास्वपामा मिसिएको बालेन समूहबाट तत्कालीन समयमा २६ जना केन्द्रीय सदस्य मनोनीत भएका थिए । त्यसपछि भूपदेव शाहलाई महामन्त्री बनाइएको थियो । अब बन्ने नयाँ केन्द्रीय समिति र पदाधिकारी टिममा उक्त समूहलाई पहिले भन्दा बढी प्रतिनिधित्व दिने योजना रहेको छ ।

रास्वपाले विधान संशोधन गर्दै केन्द्रीय सदस्य संख्या १५१ पु-याएको छ । जसमध्ये ५१ जना सभापतिले मनोनीत गर्नेछन् । यसैगरी एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री पनि सभापति रवि लामिछानेले मनोनीत गर्ने व्यवस्था गरिएको छ । बालेन समूहका आकांक्षीहरूलाई समेट्नका लागि यो संशोधन गरिएको नेताहरूको भनाइ छ ।

समायोजन पक्षका एक नेताले भने, “बालेन समूहबाट उपसभापतिमा सुनील लम्साल र महामन्त्रीमा भूपदेव शाहको नाममा सहमति भएको छ । केन्द्रीय समितिमा पनि समायोजन भएर आएकाहरूलाई अन्यायमा पर्न नदिने वचन सभापतिले दिनुभएको छ ।”

तर, स्थापन पक्षका एक नेताले भने पदाधिकारी मनोनयनको टुंगो अझै नलागेको बताए । “लम्साल र शाहको नाम आएको छ हामी छलफलमा छौ । तर अध्यक्षले अन्तिम निर्णय लिइसक्नुभएको छैन,” उनको दाबी छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा अब सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री र ९९ जना केन्द्रीय सदस्यको मात्र निर्वाचन हुनेछ । बाँकी पदहरू सभापतिले मनोनीत गर्नेछन् । यसले सभापति लामिछानेलाई टिम बनाउने व्यापक अधिकार दिएको छ ।

बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर हुन् । उनी रास्वपाबाट निर्वाचित भए पनि पार्टीको दैनिक गतिविधिमा सक्रिय छैनन् । तर, उनका समर्थकहरू पार्टीभित्र प्रभावशाली छन् । पार्टीले उनीहरूको असन्तुष्टि घटाउने र आगामी दिनमा एकताबद्ध रूपमा अघि बढ्ने रणनीति अनुरूप यो गृहकार्य गरेको बुझिएको छ ।