रास्वपालाई लिङ्देनको सुझाव – निषेधको राजनीतिभन्दा सहमति र सहकार्यलाई अघि बढाउनुस्

रास्वपालाई लिङ्देनको सुझाव – निषेधको राजनीतिभन्दा सहमति र सहकार्यलाई अघि बढाउनुस्


चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई इतिहासले दुर्लभ अवसर दिएको भन्दै त्यसको सही सदुपयोग गर्न आग्रह गरेका छन् । उनले यो अवसर गुमे त्यसको असर पार्टीमा मात्र नभई देशमै पर्ने चेतावनी दिए ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले २०४६ सालको राजनीतिक परिवर्तनपछि लोकतन्त्र वा गणतन्त्रको नाममा केही राजनीतिक दल र सीमित नेताले मुलुकमा “लुटतन्त्र” मच्चाएको आरोप लगाए । उनका अनुसार त्यसको विरुद्धमा जनताले मतदानमार्फत परिवर्तनको सन्देश दिएका छन् ।

“इतिहासले तपाईंहरूलाई अवसर दिएको छ । पार्टी र व्यक्तिको जीवनमा यस्तो अवसर बारम्बार आउँदैन । यदि यो अवसर चुकाउनुभयो भने त्यो देशप्रतिको धोका हुनेछ,” उनले भने ।

लिङ्देनले पछिल्लो निर्वाचन परिणामले परम्परागत राजनीतिक संगठनभन्दा जनताको चेतना र निर्णय क्षमताले ठूलो भूमिका खेलेको टिप्पणी गरे । उनले झण्डै दुईतिहाइ बहुमत प्राप्त गर्ने दलको सबै वडा र जिल्लामा संगठन नभएको उल्लेख गर्दै जनताले स्थापित राजनीतिक संरचनाभन्दा परिवर्तनको पक्षमा निर्णय दिएको बताए ।

उनले रास्वपाले पाएको मतमा राजसंस्थाको पक्षधर मतदाताको पनि समर्थन रहेको दाबी गरे ।

“नेपालमा राजा चाहिन्छ भन्ने धेरै मतदाता पनि राप्रपालाई नभई रास्वपामा गए । बालेन्द्र शाहजस्ता नयाँ नेतृत्वले परिवर्तन ल्याउन सक्छन् भन्ने विश्वासमा उनीहरूले मतदान गरेका हुन्,” उनले भने ।

लिङ्देनले मुलुकको समस्या केवल नेतृत्वमा मात्र नभई वर्तमान संविधानमा पनि रहेको जिकिर गरे । उनले नयाँ राष्ट्रिय सहमति र संविधानका विषयमा व्यापक संवाद आवश्यक रहेको धारणा राखे ।

उनले निषेधको राजनीतिभन्दा सहमति र सहकार्यको राजनीतिलाई अघि बढाउन रास्वपालाई सुझाव दिँदै सकारात्मक काममा आफ्नो पार्टीको सहयोग रहने, तर गलत निर्णय भएमा त्यसको विरोध गर्न पनि पछि नपर्ने स्पष्ट पारे ।