चितवन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नेपालको वैकल्पिक राजनीतिको नयाँ अध्यायका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताले अब सुशासन र समृद्धिको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
उनले रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह समकालीन राजनीतिका सबैभन्दा लोकप्रिय नेतामध्ये रहेको उल्लेख गर्दै उनीहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले आफू सधैँ विद्रोही र वैकल्पिक राजनीतिको पक्षधर रहेको बताए । उनले आफ्ना समकालीन नेताहरू षड्यन्त्र सिद्धान्तमा अल्झिने गरेको टिप्पणी गर्दै आफूले भने सुरुदेखि नै वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको र रास्वपालाई त्यसैको उपलब्धिका रूपमा लिएको बताए ।
“चार वर्षमै रास्वपाले हासिल गरेको उपलब्धि नेपाली राजनीतिक इतिहासको नयाँ कडी हो । मैले पैरवी गर्दै आएको नयाँ शक्तिको एउटा उपलब्धिका रूपमा रास्वपालाई लिएको छु,” उनले भने ।
भट्टराईले आफूलाई पद, प्रतिष्ठा वा व्यक्तिगत लाभको कुनै लोभ नभएको उल्लेख गर्दै “ललिपप खान आएको” भन्ने आलोचनाको पनि जवाफ दिए ।
“कतिपयले मलाई ललिपप खान लागेको भन्छन् । तर प्रधानमन्त्री भइसकेको, ५० लाख रुपैयाँ टाउको मूल्य तोकिएको व्यक्ति अब के ललिपप खान आउँछ?” उनले भने ।
उनले नेपालको राजनीतिक परिवर्तनलाई निरन्तर प्रक्रियाका रूपमा व्याख्या गर्दै अघिल्लो पुस्ताले प्रजातन्त्र, आफ्नो पुस्ताले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र अब नयाँ पुस्ताले देशलाई सुशासन र समृद्धिको शिखरमा पुर्याउनुपर्ने बताए ।
“पृथ्वीनारायण शाह, बीपी कोइराला र पुष्पलालपछि तपाईंहरूको पुस्ताले इतिहास रच्ने अवसर पाएको छ । अब रवि र बालेनको पुस्ताले देशलाई समृद्धि र सुशासनको चुचुरोमा पुर्याउनुपर्छ,” उनले भने ।
भट्टराईले विदेशमा रहेका नेपाली युवाले पनि परिवर्तनको अपेक्षासहित रास्वपालाई समर्थन गरेको उल्लेख गर्दै उनीहरूको योगदानलाई सम्मान गर्दै सुशासन र आर्थिक विकासमा ध्यान दिन आग्रह गरे ।
उनले महाधिवेशनले पार्टीको विचार, नीति, कार्यक्रम र नेतृत्वमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिए । पार्टीभित्र नेतृत्वका आकांक्षालाई लिएर अनावश्यक विवाद सिर्जना नगर्न पनि उनले सुझाव दिए ।
“रवि ठूलो कि बालेन ठूलो भन्ने बहस गराउने प्रयास हुन सक्छ । त्यस्ता प्रयासबाट सावधान रहँदै तपाईंहरू मिलेर अघि बढ्नुपर्छ,” उनले भने ।
भट्टराईले रास्वपाले तत्कालीन राजनीतिक सफलतामा मात्र सीमित नहुँदै दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा राखे ।
“पाँच वर्षका लागि मात्रै होइन, १०–१५ वर्षसम्म देशलाई स्थिर सरकार र स्पष्ट दिशासहित अघि बढाउने दृष्टि बनाउनुपर्छ,” उनले भने ।

प्रतिक्रिया