चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)अझै महाधिवेशन स्थलमा नआएको कारण बन्दसत्र प्रभावित भएको हो । मतदाता नामावलीमा थपघट र मधेस प्रदेशमा देखिएको विवादका कारण पनि कार्यक्रममा ढिलाइ भएको पार्टी स्रोतले जनाएको छ ।
अहिलेसम्म अधिकांश प्रतिनिधि तथा सहभागीहरूलाई प्रतिनिधि कार्ड दिइएको छैन । उनीहरूलाई भात खाने कुपन मात्र उपलब्ध गराएर राखिएको छ । महाधिवेशन स्थलमा बाक्लो चहलपहल देखिए पनि बन्दसत्र कहिले सुरु हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन ।
हिजो उद्घाटन समारोहपछि सभापति लामिछाने र प्रधानमन्त्री शाह लटौली सेन्चुरी रिसोर्टमा बास बस्न गएका थिए । त्यसपछि उनीहरू महाधिवेशन स्थल फर्केका छैनन् ।
प्रधानमन्त्री बालेन्द्र शाह बिहान छोरीसँग सौराहा घुम्न गएको, जंगल सफारी गरेर भरतपुरस्थित सैनिक ब्यारेकमा केहीबेर बसेर पुनः होटल फर्किएको बुझिएको छ । सभापति रवि लामिछाने पनि अझै लटौली रिसोर्टमै रहेर आन्तरिक छलफल र गृहकार्य गरिरहेको सुरक्षा स्रोतले बताएको छ ।
महाधिवेशनको औपचारिक उद्घाटन हिजै भएको थियो । बन्दसत्र कहिले सुरु हुन्छ भन्ने बारे पार्टी नेतृत्वले अझै आधिकारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया