रास्वपाको महाधिवेशन प्रतिनिधि ४२ सयभन्दा धेरै

रास्वपाको महाधिवेशन प्रतिनिधि ४२ सयभन्दा धेरै

दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मंगलबार दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुँदैछ । भरतपुरमा जारी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने मुख्य कार्यभार बोकेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान १० बजेदेखि नै प्रतिनिधिहरूको दर्ता कार्य सुरु भइसकेको छ । प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रियालाई तीव्रता दिएको छ ।

बिहान ११ः४५ बजे खानाको समयपछि दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक उद्घाटन गर्नेछन् । बन्दसत्रमा विभिन्न महत्वपूर्ण प्रतिवेदनहरू प्रस्तुत हुने कार्यतालिका तय गरिएको छ । सुरुमा अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले प्रस्तुत गर्नेछन् । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन पेश गर्नेछिन् भने महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
दिउँसो ३ः४५ देखि ४ः४५ बजेसम्म सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् र सोको अनुमोदन गरिनेछ । यसपछि उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ–राजनीतिक प्रस्तावना पेश गर्नेछन् । सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । उक्त प्रतिवेदनमाथि साँझ ६ः३५ बजेसम्म छलफल र प्रस्तुतीकरण हुनेछ ।
बन्दसत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको गठन घोषणा गर्नेछन् ।

त्यसपछि आयोजक समितिले निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया र विस्तृत समयतालिका सार्वजनिक गरेपछि नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ । रास्वपाको यो पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीको संगठनात्मक संरचना मजबुत बनाउने, विधान संशोधन गर्ने र भावी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । महाधिवेशनले पार्टीभित्रको एकता र नयाँ पुस्ताको नेतृत्व विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । प्रतिनिधिहरूले बन्दसत्रमा खुला छलफल गरी पार्टीको भविष्य निर्धारण गर्नेछन् ।