काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अर्को राजनीतिक दलमा प्रवेश गरेका तीन जना निर्वाचित जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जानकारी दिँदै सार्वजनिक सूचना जारी गरेको छ।
आयोगबाट मंगलबार प्रकाशित सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित दलले गरेको निर्णयका आधारमा उनीहरूको निर्वाचित पद रिक्त भएको हो।
आयोगका अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले ती जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको निर्णयको प्रतिलिपिसहित जानकारी गराएपछि २०८३ असार ८ गते बसेको आयोगको बैठकले उनीहरूको पद स्वतः रिक्त हुने निर्णय गरेको हो।
पद रिक्त हुने जनप्रतिनिधिहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विश्व डकाल रहेका छन्।

प्रतिक्रिया