इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा


एजेन्सी। इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् ।

स्विट्जरल्यान्डबाट फर्किने क्रममा सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले जलमार्गको व्यवस्थापन अब पूर्व–युद्ध अवस्थामा फर्किन नसक्ने दाबी गरे ।

उनले इरान र अमेरिका बीच आपतकालीन अवस्थाहरूमा तत्काल सम्पर्क र समन्वयका लागि एक संयुक्त सम्पर्क केन्द्र स्थापना गर्ने सहमति भएको पनि जानकारी दिए । तर यो सम्पर्क प्रणाली केवल आपतकालीन समुद्री घटनाहरू व्यवस्थापनका लागि मात्र हुने र जहाजहरूको ट्रान्जिट अनुमति प्रक्रिया भने पुरानै प्रणालीअनुसार चल्ने उनले स्पष्ट पारे ।

यसैबीच, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार युरोपेली अन्तरिक्ष एजेन्सीको स्याटेलाइट तथ्यांकले आइतबार दिउँसो ओमानको सोहार पोर्ट र संयुक्त अरब इमिरेट्सको फुजाइराह पोर्ट नजिकै करिब ४४१ वटा ठूला कच्चा तेल ढुवानी जहाज (ख्ीऋऋ) प्रतीक्षारत अवस्थामा रहेको देखाएको छ । इरान–अमेरिका वार्तापछि पुनः खुल्ने अपेक्षामा जहाजहरू जम्मा भएका थिए, जुन पाँच दिनअघिको तुलनामा ४२ वटा कम भए पनि सामान्य अवस्थाभन्दा धेरै बढी हो ।

वार्तापछि केही समय तनाव कम हुँदा केही शिपिङ कम्पनीहरूले आफ्नो सेवा पुनः सुरु गरेका थिए । तर इजरायलको लेबनानमाथिको आक्रमणपछि अवस्था फेरि तनावपूर्ण बनेको र त्यसपछि इरानले पुनः जलसन्धि बन्द गर्ने घोषणा गरेको उल्लेख छ । त्यसपछि सोमबार बिहान चार वटा कतारी तरल प्राकृतिक ग्यास बोक्ने जहाजहरूले स्ट्रेट अफ होर्मुज पार गरेका छन् । यो पछिल्ला महिनाहरूमा देखिएको सबैभन्दा ठूलो एकदिने जहाज आवागमन भएको बताइएको छ, जुन अमेरिका–इजरायल–इरान तनाव सुरु भएयताकै उच्च हो ।