साढे ९ बजेसम्म २४ सय प्रतिनिधिले गरे मतदान

साढे ९ बजेसम्म २४ सय प्रतिनिधिले गरे मतदान

३ हजारभन्दा बढी मत खस्ने अनुमान


 

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानमा बिहीबार बिहान ९ बजेसम्म करिब २३ सय महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्।   गएराति १२ बजेपछि सुरु भएको मतदान दिउँसो १२ बजेसम्म सञ्चालन हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। मतदानमा प्रयोग भइरहेको विद्युतीय प्रणाली व्यवस्थापन गरिरहेको राम(लक्ष्मण इनोभेसनका लक्ष्मण रिमाल का अनुसार हालसम्मको मतदान दर हेर्दा निर्धारित समयसम्म ३ हजारभन्दा बढी मत खस्ने अनुमान गरिएको छ।

रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये खुलातर्फ २१० र भूगोलतर्फ १७४ जना उम्मेदवार छन्। सातै प्रदेशबाट पाँच–पाँच जना गरी कुल ३५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश बाट १८, मधेस प्रदेश बाट २०, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश बाट ३१–३१, कोशी प्रदेश बाट २० तथा बागमती प्रदेश र गण्डकी प्रदेश बाट २७–२७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

रास्वपाको विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी सदस्य पछि मनोनित गरिने व्यवस्था छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा आठ पदाधिकारीका लागि निर्वाचन हुनेछ। सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। यसअघि महाधिवेशन प्रतिनिधिहरूको नामावली टुंगो लाग्न नसक्दा मतदान प्रक्रिया निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो। मतदान बुधबार बिहान ८ बजेबाट सुरु हुने कार्यतालिका रहे पनि प्रक्रिया लम्बिँदा केही प्रतिनिधि असन्तुष्ट बनेका थिए। असन्तुष्टि चर्किएपछि महाधिवेशनस्थलमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो।

हाल भने मतदान प्रक्रिया सुचारु रहेको र प्रतिनिधिहरू लामबद्ध रूपमा मतदान केन्द्रमा पुगिरहेका छन्।