सकियो विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा बहस, आदेश के आउला ?

सकियो विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा बहस, आदेश के आउला ?


काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटउपर बहस सकिएको छ ।

पौडेल पत्नी दोमाया पौडेलले दायर गरेको रिटउपर सुनुवाइको लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी चढेको थियो । रिटमा राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै दोमायाले रिहाइको आदेश माग गरेकी छन् ।

बहसको क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, ईश्वरी भट्टराईलगायतले पौडेललाई जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था नभएको बताएका छन् । व्यापारी दीपक भट्टसँग कुनै कारोबार भएको नदेखिएको अवस्थामा जसले पोल्यो उसलाई पक्राउ नगरी पौडेललाई मात्र पक्राउ गरिनु गैरकानूनी र प्रतिशोधपूर्ण भएको जिकिर गरिएको छ ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पक्राउ गरी मंगलबार ५ दिनको म्याद थप गरेको थियो ।

पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाडीमा राखेर काठमाडौं ल्याइएको थियो ।