काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो । दोस्रो चरणमा पदाधिकारीका लागि मतदान हुन लागेको हो ।
प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान ढिला सुरु भएको हो ।
यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा.स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्। महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, सागर ढकाल, रञ्जु दर्शना र गणेश कार्की मैदानमा छन् । ।
अब महिला उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्की मैदानमा छन् ।
दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै छ ।
पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको बताइएको छ ।

प्रतिक्रिया