१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल


काठमाडौं । नेपाली कांग्रेसले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ।

‘बालापन नखोसौं, पढ्न दिउँ/खेल्न दिउँ, बालबालिकालाई पार्टी सदस्य नबनाऔं’ भन्ने नारासहित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले उपसमितिले सबै राजनीतिक दल तथा पार्टीका नेता–कार्यकर्तालाई बालअधिकारको सम्मान गर्न आग्रह गरेको हो।

उपसमितिले कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ क्रियाशील सदस्यता अभियानमा सहभागी हुन इच्छुक नागरिकले असार २० गतेसम्म पार्टीको आधिकारिक पोर्टलमार्फत आवेदन दिन सक्ने जानकारी दिँदै, १८ वर्ष पूरा गरेका नेपाली नागरिकले मात्रै क्रियाशील सदस्य बन्न पाउने स्पष्ट पारेको छ।

विज्ञप्तिमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले राजनीतिक दलको सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराइएको छ। साथै, नेपाल पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धि (UNCRC) ले पनि बालबालिकालाई राजनीतिक स्वार्थ र दलीय दुरुपयोगबाट मुक्त राख्नुपर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ।

उपसमितिले यी कानुनी तथा अन्तर्राष्ट्रिय दायित्वको पालना गर्नु सत्ता र प्रतिपक्ष सबैको साझा जिम्मेवारी भएको जनाएको छ। कुनै पनि दलले बालबालिकालाई पार्टी सदस्य बनाउँदा सम्बन्धित दल मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालकै छविमा नकारात्मक असर पर्ने चेतावनी पनि दिएको छ।

विज्ञप्तिमा प्रधानमन्त्री आबद्ध रास्वपाको सदस्यता विवरणमा संविधान, कानुन र बालअधिकारसम्बन्धी व्यवस्थाविपरीत बालबालिकाको नाम समावेश भएको दाबी गर्दै त्यसप्रति गम्भिर आपत्ति जनाइएको छ। उपसमितिले प्रधानमन्त्रीबाट यस विषयमा सार्वजनिक जवाफ र कानुन कार्यान्वयनमा आवश्यक पहलको अपेक्षा गरेको छ।

त्यसैगरी, सदस्य संख्या बढाउने प्रतिस्पर्धाका नाममा बालबालिकाको बाल्यकाल खोस्ने र कानुनविपरीत गतिविधि नगर्न सबै राजनीतिक दल तथा कांग्रेसका सबै तहका समितिलाई आग्रह गरिएको छ।