काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणमा सम्पन्न पदाधिकारी निर्वाचनको मतगणना सुरु भएको छ। विद्युतीय मतदान व्यवस्थापन गरिरहेको राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको हो।
पदाधिकारी निर्वाचनमा अपेक्षाकृत निकै कम मतदान भएको छ। रिमालका अनुसार कुल १,२८९ मत मात्र खसेको छ, जुन कुल प्रतिनिधिको करिब ३० प्रतिशतभन्दा कम हो।
रास्वपाले महाधिवेशन प्रतिनिधिको आधिकारिक संख्या सार्वजनिक नगरे पनि नेताहरूले ४,३११ प्रतिनिधि रहेको बताउँदै आएका छन्। यही आधारलाई मान्ने हो भने पदाधिकारी निर्वाचनमा तीन हजारभन्दा बढी प्रतिनिधिले मतदान गरेनन्।
यसअघि पहिलो चरणमा भएको केन्द्रीय समिति निर्वाचनमा २,९५९ प्रतिनिधिले मतदान गरेका थिए। त्यसको तुलनामा दोस्रो चरणमा खसेको मत आधाभन्दा पनि कम देखिएको छ। प्रतिनिधिको कुल संख्याका आधारमा हेर्दा पदाधिकारी निर्वाचनमा करिब ७० प्रतिशत प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन्।
निर्वाचन आयोगले मतदानका लागि सुरुमा साँझ ४:३० बजेसम्म समय तोकेको थियो। तर अपेक्षाअनुसार मत नखसेपछि समय ५:३० बजेसम्म थपिएको थियो। त्यसपछि पनि मतदाताको उपस्थिति न्यून रहेको र आफूहरू मतदाता कुरेर बसेको रिमालले बताए।
दोस्रो चरणको मतदानमा यति ठूलो संख्यामा प्रतिनिधि किन अनुपस्थित भए भन्नेबारे आधिकारिक कारण सार्वजनिक भएको छैन। यद्यपि, केही नेताहरूले महाधिवेशनको अवधि लम्बिँदा बसोबास तथा यात्राको व्यवस्थापनमा समस्या परेकाले धेरै प्रतिनिधि बीचमै फर्किएको हुन सक्ने बताएका छन्।

प्रतिक्रिया