विश्वकपबाट बाहिरिएपछि उरुग्वेका खेलाडीमाथि कारबाही, निजी चार्टर्ड उडान रद्द

विश्वकपबाट बाहिरिएपछि उरुग्वेका खेलाडीमाथि कारबाही, निजी चार्टर्ड उडान रद्द


काठमाडौं । सन् २०२६ फिफा विश्वकपको समूह चरणबाट अप्रत्याशित रूपमा बाहिरिएपछि उरुग्वे फुटबल संघ (AUF) ले राष्ट्रिय टोलीका खेलाडीमाथि कडा कदम चालेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संघले टोलीका लागि तय गरिएको निजी (चार्टर्ड) विमान रद्द गरिदिएको छ, जसका कारण खेलाडी तथा प्रशिक्षकसहितको टोलीले स्वदेश फर्किन आफ्नै व्यवस्थामा यात्रा गर्नुपर्ने भएको छ ।

द सनले उरुग्वेली सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार विश्वकपबाट निराशाजनक बहिर्गमनपछि संघले यस्तो निर्णय लिएको हो । यद्यपि, उडान रद्द गर्नुको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन ।

दुई पटकको विश्वकप विजेता उरुग्वे यसपटक समूह चरण पार गर्ने बलियो दाबेदार मानिएको थियो । अनुभवी प्रशिक्षक मार्सेलो बिएल्साको नेतृत्वमा रहेको टोलीले केप भर्डे र साउदी अरेबियासँगको समूहमा सहज रूपमा नकआउट चरण पुग्ने अपेक्षा गरिएको थियो ।

तर, प्रतियोगिताको सुरुआतदेखि नै उरुग्वेको प्रदर्शन निराशाजनक रह्यो । साउदी अरेबियासँग बराबरी खेलेपछि केप भर्डेसँगको खेल पनि अपेक्षाअनुसार हुन सकेन । त्यसपछि अन्तिम खेलमा युरोपेली च्याम्पियन स्पेनलाई हराउनै पर्ने दबाबमा उत्रिएको टोली १–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । उक्त खेलमा गोलरक्षक फर्नान्डो मुस्लेराको गल्ती निर्णायक बनेको बताइएको छ ।

यसअघि अन्तिम खेलअघि नै टोलीभित्र प्रशिक्षक बिएल्सा र केही खेलाडीबीच असन्तुष्टि तथा मतभेद रहेको खबर पनि बाहिरिएको थियो ।

विश्वकपबाट बाहिरिएपछि बिएल्साले पत्रकार सम्मेलनमा भावुक प्रतिक्रिया दिँदै आफूले उरुग्वे फुटबलका लागि अपेक्षित नतिजा दिन नसकेको स्वीकार गरेका छन् । उनले आफ्नो कार्यकाल सकिएको संकेतसमेत दिएका छन् ।

उनले भने, “मैले उरुग्वे फुटबलका लागि कुनै उल्लेखनीय योगदान दिन सकिनँ । तीन वर्षसम्म टोली सम्हालेर पनि नतिजा दिन नसक्ने प्रशिक्षकले आफू सफल भएको भन्न सक्दैन । विश्वकपमा भएको प्रदर्शनको सम्पूर्ण जिम्मेवारी मेरो हो ।”

बिएल्साले आफ्नो टोलीले प्रदर्शनका आधारमा सात अंक पाउनुपर्ने भए पनि दुई अंकमै सीमित भएको उल्लेख गर्दै त्यसको पूर्ण जिम्मेवारी आफूले लिने बताए । उनले गोलरक्षक मुस्लेरा र कप्तान फेडेरिको भाल्भेर्डेलाई परिवर्तन गर्नुको कारणबारे पनि प्रष्ट पार्दै टोलीको आक्रमण बलियो बनाउन रणनीतिक परिवर्तन गरिएको बताए ।