जितको मुखैमा पुगेर हार बेहोर्नु परेको सेनेगल

जितको मुखैमा पुगेर हार बेहोर्नु परेको सेनेगल


काठमाडौँ । सेनेगलका प्रशिक्षक पापे थियावले फुटबललाई एक ‘क्रूर खेल’ को संज्ञा दिएका छन् । बुधबार सियाटलमा भएको विश्वकपको अन्तिम ३२ को खेलमा बेल्जियमसँग अप्रत्याशित रूपमा पराजित भएपछि उनले यस्तो भनेका हुन् ।

आज बिहान भएको खेलमा एउटा समय यस्तो पनि थियो, जहाँ सेनेगल २(० को सहज अग्रताका साथ जिततर्फ लम्किरहेको थियो । तर खेल सकिन ४ मिनेट बाँकी हुँदा बेल्जियमले ३ मिनेटको अन्तरालमा २ गोल गर्यो । यसपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको अन्तिमतिर युरी टिलेमन्सले पेनाल्टीमार्फत गोल गरेपछि बेल्जियम ३–२ ले विजयी भयो ।

सेनेगल यसअघि नै विवादको घेरामा परेर विश्वकप खेल्न आएको थियो । गत जनवरीमा मोरक्कोविरुद्धको अफ्रिका कप अफ नेसन्सको फाइनलमा पेनाल्टीको निर्णयविरुद्ध विरोध जनाउँदै मैदान छाडेका कारण सेनेगलको उपाधि खोसिएको थियो । बुधबार पनि बेल्जियमलाई पेनाल्टी दिइँदा सेनेगलका खेलाडीहरू निकै आक्रोशित र भावुक देखिएका थिए ।

लामो ‘भीएआर’रिभ्युपछि लामिन कामाराले टिलेमन्सलाई लडाएको भन्दै रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिइएको थियो । प्रशिक्षक थियावले भने, ‘हाम्रो बुझाइमा त्यो पेनाल्टी थिएन। खेलाडीहरूले विरोध गरे, जुन उनीहरूको अधिकार थियो । तर, त्यही पेनाल्टीका कारण आज हामी विश्वकपबाट बाहिरिएका छौँ ।’

खेल ८५ मिनेटसम्म सेनेगलकै नियन्त्रणमा थियो । प्रशिक्षक थियाव भन्छन्, ‘त्यो हार हाम्रो आफ्नै गल्तीले भयो । तर फुटबल खेल ८५ मिनेटको मात्र हुँदैन रहेछ । अन्तिम समयमा हामी सम्हािलन सकेनौं ।’

अब बेल्जियमले क्वार्टरफाइनल प्रवेशका लागि सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।