एजेन्सी । ताइवानका लागि यो एउटा भयावह परिदृश्य थियो—चीनले नाकाबन्दी गर्ने, त्यसैबीच आएको शक्तिशाली भूकम्पको अवसरलाई बेइजिङले अराजकता फैलाउन प्रयोग गर्ने, टेलिभिजन प्रसारण नियन्त्रणमा लिने, पूर्वाधारमा तोडफोड गर्ने, बैंकहरूमा एकैपटक निक्षेप झिक्ने भिड लाग्ने, नागरिक अशान्ति फैलिने र अन्ततः पूर्णस्तरको सैन्य आक्रमण हुने ।
यही क्रमिक संकटलाई आधार बनाएर यस साता मध्य ताइवानमा ३७० भन्दा बढी सरकारी तथा सैन्य अधिकारीलाई अभ्यास गराइएको थियो । लोकतान्त्रिक शासन व्यवस्थाअन्तर्गत रहेको ताइवानमाथि चीनको बढ्दो सैन्य दबाबका बीच राष्ट्रपति लाइ छिङ–तेले युद्ध तयारीलाई सुदृढ बनाउने अभियानका रूपमा यो अभ्यास सञ्चालन गरेका हुन् ।
यस बन्द सत्रको अभ्यासमा रोयटर्सलाई दुर्लभ रूपमा विशेष पहुँच दिइएको थियो । नान्तोउ काउन्टीका अधिकारीहरूले केन्द्रीय सरकार र सेनासँग समन्वय गरेर आक्रमणको अवस्थामा पनि पहाडी जिल्लाको प्रशासन र सेवा सञ्चालन गर्न सक्छन् वा सक्दैनन् भन्ने परीक्षण पहिलो पटक गरिएको हो ।
ताइवानले हालका वर्षहरूमा तथाकथित ‘रेजिलिएन्स’ (संकट सामना गर्ने क्षमता) अभ्यास तीव्र बनाएको छ । प्राकृतिक विपत्तिदेखि युद्धसम्मका संकटका लागि सर्वसाधारण र सरकारी संयन्त्रलाई तयार पार्ने उद्देश्यले गरिने यी अभ्यासहरू विगतमा आलोचना गरिने औपचारिक, पूर्वनिर्धारित र कम प्रभावकारी अभ्यासभन्दा फरक बनाइएको अधिकारीहरू बताउँछन् ।
दुईदिने अभ्यासको नेतृत्व गरेका विभागविहीन मन्त्री ची लियन–चेङले रोयटर्ससँग भने, ‘हाम्रो प्रतिद्वन्द्वी ताइवान जलडमरूमध्य पारि, हाम्रो ढोकामै छ । त्यो धेरै नजिक छ ।’ उनले थपे, ‘यदि तपाईंले आफ्नै देशको रक्षा गर्नुभएन भने अरू कसले गर्छ? अहिले मानिसहरूले यो कुरा बुझ्न थालेका छन् ।’
यद्यपि उनले वास्तविक विपत्तिको अवस्थामा अझै धेरै कमजोरी रहेको र स्रोत–साधन पनि अपुग हुन सक्ने स्वीकार गरे । ‘तर त्यसमा समस्या छैन । हामी यहाँ उनीहरूले अभ्यास कसरी गर्छन्, यी अवधारणालाई आत्मसात् गरेर व्यवहारमा उतार्ने इच्छाशक्ति छ कि छैन भन्ने हेर्न आएका हौं,’ उनले भने ।
चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन आवश्यक परे बल प्रयोग गर्ने विकल्प कहिल्यै नत्यागेको बताउँदै आएको छ । तर ताइवान सरकारले भने द्वीपको भविष्यबारे निर्णय गर्ने अधिकार ताइवानका नागरिकमै रहेको बताउँदै आएको छ ।
अभ्यास समापन भइरहेका बेला बिहीबार ताइवानले चीनले युद्धपोत र कम्तीमा २२ वटा सैन्य विमान, जसमा आणविक हतियार बोक्न सक्ने एच–६ बमवर्षक विमान पनि थिए, प्रयोग गरेर द्वीप वरिपरि फेरि ‘संयुक्त युद्ध तयारी गस्ती’ सञ्चालन गरेको जनाएको थियो । चीनको ताइवान मामिला कार्यालयले राष्ट्रपति लाइले जानाजानी तनाव बढाइरहेको आरोप लगाएको छ ।
कार्यालयकी प्रवक्ता झु फेङलियनले भनिन्, ‘यसले ताइवानलाई युद्ध र द्वन्द्वको खतरनाक अवस्थामा धकेल्नेछ । उनी वास्तवमै दुई किनारबीचको शान्तिका विनाशकर्ता, ताइवान जलडमरूमध्यमा संकट सिर्जना गर्ने व्यक्ति र युद्ध उक्साउने नेता हुन् ।’
‘महँगो युद्ध सफल नहुन सक्छ’
अभ्यासको पहिलो दिन सातघण्टे टेबल–टप अभ्यास गरिएको थियो भने दोस्रो दिन मैदानी अभ्यास सञ्चालन गरियो । त्यसक्रममा विद्युत् केन्द्रलाई लक्षित गरेको चिनियाँ ड्रोन खसाल्ने, खाद्यान्न वितरण केन्द्र स्थापना गर्ने लगायतका अभ्यास गरिए ।
६.८ म्याग्निच्युडको भूकम्पको काल्पनिक परिदृश्यमा १२ जनाको मृत्यु भएको देखाइएको थियो । त्यसले अधिकारीहरूलाई उद्धार कार्य, क्षतिग्रस्त पूर्वाधार, बढ्दो नागरिक अशान्ति र युद्धकालीन तयारीलाई एकैसाथ व्यवस्थापन गर्नुपर्ने थप चुनौती सिर्जना गर्यो ।
अभ्यास केन्द्रका ठूला स्क्रिनमा अमेरिकी सेनाले विकास गरेको सामरिक नक्साङ्कन तथा सञ्चार प्रणाली प्रयोग गरिएको थियो, जसले शत्रुका लक्ष्यहरूको वास्तविक समयको अवस्थिति देखाइरहेको थियो ।
त्यससँगै ताइवान सरकारका दुई डिजिटल प्लेटफर्मले अन्तरक्रियात्मक नक्सा र संकेतमार्फत एम्बुलेन्स तथा अन्य स्रोत–साधनको परिचालन देखाइरहेका थिए । यसले यस वर्षको अभ्यासको मुख्य प्राथमिकता नागरिक र सैन्य संयन्त्रबीचको गहिरो समन्वय रहेको स्पष्ट पारेको थियो ।
ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का उपमहासचिव लिन फेइ–फानका अनुसार सैन्य रिजर्भ कमाण्डले स्थानीय सरकारसँग प्रत्यक्ष समन्वय गरेको थियो ।
उनले भने, ‘हाम्रो प्रतिद्वन्द्वीका लागि सन्देश स्पष्ट छ—यदि उनीहरूले ताइवानको समाज पूर्ण रूपमा तयार रहेको देखे भने, सफल नहुन सक्ने यति महँगो युद्ध सुरु गर्ने कि नगर्ने भन्ने विषयमा उनीहरूले धेरै गम्भीर रूपमा सोच्नुपर्नेछ ।’
युक्रेन र मध्यपूर्वबाट सिकिएका पाठ
युक्रेन र मध्यपूर्वका युद्धबाट सिकेका अनुभवका आधारमा यसपटकका अभ्यासलाई अझ यथार्थपरक बनाइएको अधिकारीहरूले बताए । यसमा अस्पतालका सेवा भूमिगत स्थानबाट सञ्चालन गर्ने, सरकारी सञ्जाल र वेबसाइटमाथि व्यावसायिक ह्याकरमार्फत साइबर आक्रमण गराएर त्यसको सहनशीलता परीक्षण गर्ने लगायतका अभ्यास समावेश थिए ।
एउटा परिदृश्यमा चिनियाँ ड्रोनले अभ्यास सञ्चालन केन्द्रमै आक्रमण गरेको देखाइएको थियो, जसमा ७५ अधिकारीको अवस्था अज्ञात भएपछि वैकल्पिक सञ्चालन केन्द्र सक्रिय गर्ने योजना कार्यान्वयन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
अभ्यासमा सहभागी एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘हामी उनीहरूलाई वास्तविक युद्धमा लैजान सक्दैनौं । त्यसैले यस्ता परिदृश्यमार्फत युद्ध कति क्रूर हुन्छ र सबै परिस्थिति कति गम्भीर र आकस्मिक हुन सक्छन् भन्ने बुझाउन खोजेका हौं ।’ उनले थपे, ‘यदि शान्तिकालमै यस्तो तयारी गरिएको छैन भने, वास्तविक संकटमा प्रभावकारी प्रतिक्रिया दिन सकिँदैन ।’
‘पछाडिको सुरक्षित क्षेत्र’ बनाउने योजना
नान्तोउका अधिकारीलाई एउटा महत्त्वपूर्ण रणनीतिक जिम्मेवारी दिइएको थियो—ताइवानको एकमात्र स्थलले चारैतिर घेरिएको (समुद्रसँग नजोडिएको) जिल्लालाई ‘रियर एरिया’ (पछाडिको सुरक्षित क्षेत्र) मा रूपान्तरण गर्ने ।
यसको उद्देश्य अन्य जिल्लाबाट विस्थापित भएर आउने नागरिकलाई आश्रय दिनु तथा अग्रपंक्तिका सैनिकहरू चिनियाँ सेनासँग लडिरहेका बेला वैकल्पिक सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्नु थियो ।
देशभरका दर्जनौं स्थानीय सरकारी इकाइ पनि प्रत्यक्ष प्रसारणमार्फत अभ्यासमा जोडिएका थिए । उनीहरूले विभिन्न संकटका परिदृश्यमा प्रतिक्रिया दिएका थिए र अभ्यास केन्द्रका कमाण्डरहरूको द्रुत प्रश्नको उत्तर दिएका थिए ।
स्थानीय सरकारले एकै रातमा कति सैन्य उमेरका पुरुष परिचालन गर्न सक्छ, जिल्लामा कति डिब्बा शिशु दूध मौज्दात छ जस्ता अत्यन्त सूक्ष्म प्रश्नसमेत सोधिएका थिए । तर यस्ता कार्य विद्युत्, खानेपानी वा नागरिक दर्ता कार्यालयका कर्मचारीजस्ता स्थानीय अधिकारीका लागि दैनिक कामभन्दा निकै फरक थिए ।
संकटका परिदृश्य गम्भीर बन्दै जाँदा अभ्यास केन्द्रको वातावरण पनि तनावपूर्ण बन्दै गएको थियो । कतिपय अवस्थामा कमाण्डर र मातहतका अधिकारीबीच चर्काचर्कीसमेत भएको थियो, किनकि केही अधिकारीले तत्काल जवाफ दिन सकेका थिएनन् ।
सूचना युद्धको पनि अभ्यास
अभ्यासमा स्थानीय निकायले सूचना युद्धसँग कसरी जुध्ने भन्ने विषय पनि परीक्षण गरिएको थियो । परिदृश्यअनुसार चिनियाँ दुष्प्रचार र तोडफोड प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको थियो ।
एक चरणमा स्थानीय टेलिभिजन प्रसारण ह्याक गरी बेइजिङको प्रचार सामग्री प्रसारण गरिएको देखाइएको थियो भने सडकभर गलत सूचना भएका पर्चा छरिएको थियो । यो परिदृश्य सन् २०२५ को ताइवानी टेलिभिजन नाटक ‘जिरो डे अट्याक’ मा देखाइएको कथासँग मिल्दोजुल्दो थियो ।
त्यसको जवाफमा अधिकारीहरूले नमूना पत्रकार सम्मेलन आयोजना गरे र सहभागीलाई गलत सूचना कसरी पहिचान गर्ने भन्ने तालिम दिइयो । समुदायस्तरीय प्रतिक्रिया टोलीको नेतृत्व गरेका ७५ वर्षीय स्थानीय वडाध्यक्ष ली इ–युआनले यस्तो अभ्यासले वास्तविक र झुटो सूचना छुट्याउन सिकाएको बताए । उनले भने, ‘यदि अर्को पक्षले आक्रमण गर्यो भने, उसले झुटा सूचना फैलाउन कृत्रिम बुद्धिमत्ता (एआई) को अवश्य प्रयोग गर्नेछ ।’

प्रतिक्रिया