काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डकाअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन्। उनीहरूबारे पछिल्लो अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको बोर्डले जनाएको छ।
बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको खोजी तथा उद्धारका लागि नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायले समन्वय गरिरहेका छन्।
पर्यटन व्यवसायीहरूले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा भारतका १०५ जना, बेलायतका १२, दक्षिण अफ्रिकाका ४, मलेसियाका १७ र अमेरिकाका ३ जना रहेका छन्। त्यस्तै अस्ट्रेलिया र नेदरल्यान्ड्सका एक–एक जना रहेको बोर्डले जनाएको छ।
यस्तै, १११ जनाको राष्ट्रियता खुल्न बाँकी रहेको छ भने ३७ जना एनआरआई रहेको विवरण प्राप्त भएको छ।
बोर्डका प्रवक्ता सुनिल शर्माले पर्यटन व्यवसायीहरूले उपलब्ध गराएको पछिल्लो तथ्यांकका आधारमा ३८४ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको जानकारी दिए।
पर्यटन एजेन्सीहरूले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना र सम्राट टुर एन्ड ट्राभल्समार्फत गएका ७१ जना सम्पर्कविहीन छन्। त्यस्तै लिफ होलिडेका ५५, हिमालयन ग्लेशियरका ५२ जना लगायत विभिन्न एजेन्सीमार्फत गएका पर्यटक तथा पदयात्री पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
पर्यटन बोर्डले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा ट्रेकिङ गाइडसँगको समन्वयमा तथ्यांक रुजु गर्ने र प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने काम भइरहेको जनाएको छ।

प्रतिक्रिया