काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आज बिहान ११स्३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल हस्तकला महासंघका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने कार्यक्रम तय गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलको मुख्य उद्देश्य नेपालको हस्तकला क्षेत्रको उत्पादन, बजार विस्तार, निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनाका विषयमा निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गर्नु हो।
बैठकमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा हस्तकला क्षेत्रका प्रमुख निर्यातकर्ता महेश्वर श्रेष्ठ लगायत सहभागी हुनेछन्। उनीहरूले उद्योगले भोगिरहेका समस्या, सरकारी नीतिमा आवश्यक सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारका सम्भावनाबारे प्रधानमन्त्रीसमक्ष धारणा राख्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बालेनले पछिल्ला दिनमा निजी क्षेत्रसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उद्योग–व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग श्रृंखलाबद्ध छलफल गरिरहेका छन्। यसअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी, फुटवेयर उद्योग, तयारी पोसाक उद्योग तथा सेयर लगानीकर्तासँग पनि उनले छुट्टाछुट्टै बैठक गरिसकेका छन्।
यी छलफलहरूको विशेषता भनेको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई सहभागी नगराई प्रधानमन्त्री स्वयंले सरोकारवालासँग प्रत्यक्ष सुझाव लिने अभ्यास हो। यसलाई निजी क्षेत्रका समस्या सिधै सुन्ने र समाधानका लागि नीतिगत निर्णयमा सहजता ल्याउने प्रयासका रूपमा हेरिएको छ।
सरकारले हस्तकला क्षेत्रलाई विदेशी मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार मान्दै आएको छ। त्यसैले आजको छलफलबाट हस्तकला उद्योगलाई प्रतिस्पर्धी, प्रविधिमैत्री र निर्यातमुखी बनाउने विषयमा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।

प्रतिक्रिया