काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थतन्त्रमा सुस्ताएको निर्यात क्षेत्रलाई चलायमान बनाउने प्रयासस्वरूप आज प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा प्लाइउड, गलैंचा, पश्मिना तथा डग च्यु उद्योगका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
सरकारले निर्यात बढाउने प्रतिबद्धता दोहोराइरहेका बेला उद्योगीले भोगिरहेका कर, भन्सार, बजार पहुँच, उत्पादन लागत र नीतिगत जटिलताबारे प्रधानमन्त्रीले प्रत्यक्ष सुझाव लिने तयारी गरेका छन्। यसलाई निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने प्रयासका रूपमा पनि हेरिएको छ।
यसअघि प्रधानमन्त्री शाहले चिया उद्योगी, हस्तकला व्यवसायी, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी, फुटवेयर उद्योगी, तयारी पोसाक उत्पादक तथा सेयर लगानीकर्तासँग पनि छुट्टाछुट्टै भेटघाट गरिसकेका छन्।
तर, प्रधानमन्त्रीले सञ्चालन गरिरहेका यी श्रृंखलाबद्ध छलफलमा अर्थमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई सहभागी नगराइएको विषयले भने राजनीतिक र प्रशासनिक वृत्तमा चासो बढाएको छ। निर्णय कार्यान्वयन गर्ने निकाय नै अनुपस्थित हुँदा यस्ता संवादको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
अब उद्योगीका सुझाव नीति निर्माणसम्म पुग्छन् कि केवल छलफलमै सीमित रहन्छन् भन्ने प्रश्नको उत्तर भने आगामी सरकारी निर्णयले दिनेछ।

प्रतिक्रिया