काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भिड नियन्त्रण गर्ने कुराका सुरक्षा निकाय असफल भएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।
रास्वपा सभापति रवि लामिछानेले राखेको सर्वदलीय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिड नियन्त्रण गर्ने कुराका सुरक्षा निकाय निरन्तर असफल हुनु गम्भीर कुरा भएको बताए।
उनले भने, ‘दङ्गा र भिड नियन्त्रण गर्ने काममा अल्पकालिक र दीर्घकालिक कुरा आजका लागि मात्र होइन भविष्यका लागि पनि धेरै महत्त्वपूर्ण विषय हो। सुरक्षा निकायको मनोबल गिरेका कारणले यस प्रकारका दुखद घटनाहरू हुन्छन् कि? साधन स्रोतको अभावमा यस प्रकारका घटनाहरू हुन्छन् ? समीक्षा हुनुपर्छ।’
रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक राख्नु सकारात्मक भएको पोखरेलले बताए।
उनले भने, ‘सर्वदलीय बैठकको आयोजना सरकार स्वयम् आफैँले गर्नुपर्दथ्यो। प्रधानमन्त्री स्वयं आफैले यसको अग्रसरता लिनुपर्दथ्यो । प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने काम सभापतिले अग्रसरता लिनुभयो ।’
उनले सर्वदलीय बैठकका माध्यमबाट शान्ति, सुरक्षा र सुशासन कायम गर्नका लागि संयुक्त वक्तव्य जारी भएको समेत बताए ।

प्रतिक्रिया