काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनले भोगेका अनुभव, उपलब्धि र कमजोरीहरूको सामूहिक रूपमा अध्ययन तथा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले इतिहासको अनुसन्धान र समीक्षा गर्न प्रमुख वामपन्थी दलका नेताहरू सम्मिलित सामूहिक टोली गठन गर्नुपर्ने प्रस्तावसमेत राखे ।
उनले भने, ‘हामीले इतिहासको समीक्षा गर्नुपर्दछ। हाम्रा गल्ती कहाँ भए भन्ने विषयमा विमर्श गर्नुपर्दछ । अगाडि जाने संकल्प गर्नुपर्दछ । निराश हुनुपर्ने कारण छैन । इतिहासका अनुभवबाट शिक्षा लिएर दृढताका साथ अगाडि बढ्यौं भने फेरि सफल हुन सक्छौं भन्ने विश्वास छ । सबै प्रमुख वामपन्थी दलका नेताहरूले सामूहिक रूपमा विमर्श गरी अनुसन्धानमूलक ढंगले इतिहासको समीक्षा गर्न सकियो भने त्यो ठूलो उपलब्धि हुनेछ । यसले आउने पुस्ताका लागि पनि अनुसन्धानमूलक सामग्री तयार गर्न मद्दत पुग्नेछ ।’
उनले अहिले कम्युनिष्ट आन्दोलनले चुनौतीपूर्ण अवस्था भोगिरहेको उल्लेख गर्दै त्यसबाट बाहिरिन आत्मसमीक्षा अपरिहार्य रहेको बताए ।
यसैगरी प्रचण्डले शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा विभिन्न शक्ति केन्द्रबाट अवरोध सिर्जना गर्ने प्रयास भए पनि राजनीतिक नेतृत्वले ती चुनौती पार गर्दै प्रक्रिया सफल बनाएको दाबी गरे ।
उनले भने, ‘संविधान बन्न नदिने र शान्ति सम्झौता हुन नदिने प्रयास विभिन्न शक्ति केन्द्रबाट भएका थिए । तर हामी विजयी भयौं । शान्ति सम्झौता पनि भयो, संविधान पनि बन्यो । हामीले धेरै काम गरेकै हो । हामीले केही पनि नगरेको भनेर गरिने प्रचार सत्य होइन । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। तर सरकारको नेतृत्व गर्न थालेपछि हामीले आफ्नो रणनीतिक दृष्टिकोणलाई निरन्तरता दिन सकेनौं ।’
प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई पुनः सशक्त बनाउन आत्मसमीक्षा, वैचारिक स्पष्टता र साझा संकल्प आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया