काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साउन २८ गते नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ घोषणा गर्ने भएका छन् ।
नयाँ पार्टी घोषणा गरेलगत्तै सोही दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारी गरिएको छ । पार्टीको अध्यक्ष धवलशम्शेर राणा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने सहमति भएको एक नेताले जानकारी दिए ।
“हामीले ‘जय नेपाल पार्टी’ नाम राख्ने तय गरेका छौं । साउन २८ गते पार्टी घोषणा गरेर सोही दिन निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिन्छौं,” ती नेताले भने ।
राणाले गत जेठ १७ गते राप्रपा परित्याग गरेका थिए । त्यसको पाँच दिनपछि जेठ २२ गते उनले प्रसाईंसँग नयाँ पार्टी गठन गर्ने सहमति गरेका थिए । त्यसयता दुवै पक्षले विभिन्न समिति गठन गरी तयारी गर्दै आएका थिए ।
नयाँ दलले संवैधानिक राजसंस्था, सनातन धर्म तथा राष्ट्रवादी राजनीतिक एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने तयारी गरेको बताइएको छ । चुनाव चिह्नबारे भने अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया