सिरहा । सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा बिहीबार गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित श्रद्धाञ्जली सभा विवादमा तानिएको छ ।
कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तथा सांसद तपेश्वर यादवले दिएको राजनीतिक अभिव्यक्तिपछि उपस्थित केही सहभागीले आपत्ति जनाएका थिए ।
श्रद्धाञ्जली कार्यक्रमलाई राजनीतिक भाषणको थलो बनाउन नहुने भन्दै सहभागीहरूले विरोध गरेपछि कार्यक्रमस्थलमा भनाभन भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार सांसद यादवले सुनसरी र सिरहामा भएका घटनापछि सरकारविरुद्ध अनावश्यक रूपमा प्रश्न उठाइएको तथा यसलाई सुनियोजित षड्यन्त्रको रूपमा व्याख्या गर्ने अभिव्यक्ति दिएका थिए ।
त्यसपछि उपस्थित केही व्यक्तिले कार्यक्रमको उद्देश्य मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नु र सामाजिक सद्भाव कायम गर्नु भएकाले विवादास्पद राजनीतिक टिप्पणी नगर्न आग्रह गरेका थिए ।
विवाद बढ्दै गएपछि कार्यक्रम प्रभावित भएको थियो । त्यसपछि सांसद यादव प्रहरीको सुरक्षामा कार्यक्रमस्थलबाट बाहिरिएका थिए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपक्षी दलहरूले अनावश्यक रूपमा विषयलाई उचालेको बताएका छन् ।
यता, मधेश प्रदेशका पूर्वसांसद जगतप्रसाद यादवले श्रद्धाञ्जली सभा सामाजिक सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले आयोजना गरिएको भए पनि राजनीतिक अभिव्यक्तिका कारण कार्यक्रमको वातावरण बिग्रिएको आरोप लगाए ।
आयोजकका अनुसार श्रद्धाञ्जली सभापछि गोलबजारमा सामूहिक सद्भाव र्याली निकाल्दै बजार क्षेत्रका पसल सञ्चालन गर्ने तयारी थियो । तर, कार्यक्रममा उत्पन्न विवादपछि त्यससम्बन्धी कार्यक्रम प्रभावित भएको र आगामी निर्णयबारे अन्योल रहेको जनाइएको छ ।

प्रतिक्रिया