काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको कार्यशैली अराजक बन्दै गएको आरोप लगाएका छन् । प्रधानमन्त्रीकै कार्यशैलीका कारण राज्यका महत्त्वपूर्ण निकायहरू हतोत्साहित भएको र त्यसको असर समग्र शासन प्रणालीमा परेको उनको भनाइ छ ।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक व्यवस्थामा विधिको शासन सर्वोपरि हुने उल्लेख गर्दै कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताए ।
उनले प्रधानमन्त्रीले मन्त्रीहरूबिनै बैठक बस्ने र राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने काम गरिरहेको आरोप लगाए ।
‘प्रधानमन्त्रीले मन्त्रीहरूबिना नै बैठक गर्ने र राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने काम गरिरहनुभएको छ । मुख्य व्यक्तिको कार्यशैली नै अराजक भएपछि त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ,’ थापाले भने ।
उनले मन्त्री र सांसदहरूबाटै उत्तेजक तथा धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक हुनु विधिको शासनमाथिको चुनौती भएको टिप्पणी गरे । विभिन्न माग राखेर आन्दोलनरत पक्षसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले त्यसप्रति पनि असन्तुष्टि जनाए ।
‘लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो । तर, वर्तमान सरकारमा प्रचण्ड बहुमतको अहंकार देखिएको छ, जसले गर्दा शासकीय अराजकता निम्तिएको छ,’ उनले भने ।
थापाले लघुवित्त तथा सहकारी पीडित, शिक्षक, नर्स र चिकित्सकका समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए । सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नगर्दा राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदै जाने खतरा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया