काठमाडौं । परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएसँगै राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ ।
मन्त्रालयले दैनिक दुई हजारसम्म राहदानी आवेदनको स्लट खुला गरिएको र सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको जानकारी दिएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी सेवा सुधारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए ।
उनका अनुसार नयाँ प्रणाली लागू भएसँगै राहदानीका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ । सोही चापलाई व्यवस्थापन गर्न विभागले दैनिक दुई हजारसम्म आवेदन फाराम खुला गर्दै आएको र सोही संख्याको हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको छ ।
उनले भने,‘राहदानीका लागि आवेदन दिनेको बढ्दो चापलाई मध्यनजर गरी राहदानी विभागले दैनिक दुई हजारसम्मको सङ्ख्यामा आवेदन फारम खुलाएको र सोही सङ्ख्याकै हाराहारीमा राहदानी छपाई तथा वितरण कार्य भइरहेको छ । दैनिक रूपमा तोकिएको स्लटमा आवेदन गर्न असमर्थ तर कुनै खास इमर्जेन्सी जस्तै मेडिकल इमर्जेन्सी, अर्जेन्ट ट्राभल रिक्वायरमेन्ट जस्तो परेको सेवाग्राहीले सोझै विभागमा सम्पर्क गरेमा विभागबाट अवस्था हेरी सोही दिन राहदानी लिन सक्नेसम्मको व्यवस्था मिलाइएको छ । साथै सेवा प्रवाहलाई अझ बढी व्यवस्थित र नागरिक मैत्री बनाउन राहदानी विभागले दुई सिफ्टमा सेवा प्रदान गरिरहेको छ ।’

प्रतिक्रिया