काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने भावुक सन्देश सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले त्यसप्रति प्रतिक्रिया जनाएका छन् ।
झाले फेसबुकमार्फत सरकारभित्र कोही पनि एक्लो नरहेको उल्लेख गर्दै परिवर्तनका लागि प्राप्त जनादेशलाई सफल बनाउन सबै एकजुट रहेको सन्देश दिएका छन् ।
उनले परिवर्तनका लागि बनेको वर्तमान सरकारमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै सरकारलाई आवश्यक ठाउँमा साथ दिने र सुधार आवश्यक देखिएका विषयमा सचेत गराइरहने बताएका छन् ।
सांसद झाले प्रतिनिधिसभामा आफूले राखेको धारणा दोहोर्याउँदै सरकारको नियत र उद्देश्यप्रति आफूलाई शंका नभए पनि कार्यसम्पादनका केही पक्षमा सुधार अपरिहार्य रहेको उल्लेख गरेका छन् । ऐतिहासिक अवसर खेर जान नदिन निरन्तर खबरदारी र रचनात्मक सुझाव आवश्यक रहेको उनको भनाइ छ ।
झाले जननिर्वाचित सरकारले सधैं जनताको पक्षमा उभिनुपर्ने बताउँदै आफू सरकारको साथमै रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारमा कसैलाई पनि एक्लो ठान्न नहुने सन्देशसमेत दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

प्रतिक्रिया