काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढ्दै गएको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले आफूले नागरिकसँग निरन्तर संवाद गरिरहेको र उनीहरूमा सरकारप्रति तीन प्रकारका धारणा देखिएको बताए।
“केही नागरिकमा अनिश्चितता भएको पाउँछु। केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन, भोलि पनि हुँदैन भन्ने हतास भएको पाउँछु,” थापाले भने, “केही नागरिकमा आक्रोश छ।”
उनले नागरिकमा देखिएको आक्रोश कांग्रेसका लागि खुसीको विषय नभई गम्भीर चिन्ताको विषय भएको बताए। नागरिकको असन्तुष्टिलाई राजनीतिक लाभका रूपमा हेर्नुभन्दा त्यसको कारण पहिचान गरेर समाधान खोज्नुपर्ने उनको भनाइ थियो।
थापाले नागरिकमा बढेको आक्रोशकै पृष्ठभूमिमा प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो स्टाटस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको हुनसक्ने बताए।
उनले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई नागरिक आफूहरूसँग असन्तुष्ट रहेको कुरा भदौ ८ गते संसद्मा बताएको उल्लेख गरे।
थापाले नागरिकको असन्तुष्टिलाई बेवास्ता गर्दा त्यसले प्रतिरोधको रूप लिन सक्ने चेतावनीसमेत दिए।
“नागरिक र जनताको बारेमा तिमीहरूले भनेर हुँदैन भनियो। हामीले जितेर आएका छौं भनियो,” विगतको केन्द्रीय समिति बैठकमा व्यक्त धारणालाई स्मरण गर्दै थापाले भने।
उनका अनुसार जनताको भावना र असन्तुष्टिलाई बेवास्ता गर्ने राजनीतिक प्रवृत्तिले अन्ततः दलहरूलाई नै गम्भीर क्षति पुर्याउन सक्छ। त्यसैले नागरिकमा देखिएको अनिश्चितता, हतास र आक्रोशलाई समयमै बुझेर राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्नेमा उनले जोड दिए।
थापाले नागरिकको आक्रोशलाई सामान्य रूपमा नलिन कांग्रेसलाई समेत सचेत गराउँदै जनताको विश्वास पुनः आर्जन गर्न पार्टीले आफ्ना कमजोरीमाथि गम्भीर समीक्षा गर्नुपर्ने बताए।

प्रतिक्रिया