काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि सामाजिक सञ्जालमा देखिएका टिप्पणीप्रति गहिरो चिन्ता व्यक्त गर्दै पार्टीको सम्पूर्ण एकताका लागि भावुक अपिल गरेका छन्।
खड्काले भनेका छन्, “सम्मानित सर्वोच्च अदालतले हामीलाई निस्सा दिएपछिको तीन दिनमा सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीकाटिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ।”
उनले देशको राष्ट्रियता संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षड्यन्त्र भइरहेको र कांग्रेस पार्टी इतिहासमै सबैभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गर्दै भने, “आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली कांग्रेसको सम्पूर्ण एकता हो।”
एकताका लागि सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना सिर्जना गरी संवाद–सहमति हुनुपर्ने र प्रत्येक जिम्मेवार व्यक्तिले व्यक्तिगत अहंकार, घमण्ड र कुण्ठाबाट मुक्त भई सामूहिक भावनाले अघि बढ्नुपर्ने उनको आग्रह छ।
सर्वोच्च अदालतको निस्सा पार्टी एकताको अन्तिम अवसर भएको स्मरण गराउँदै खड्काले पार्टी सभापति गगन थापालाई विशेष अपिल गरेका छन् ।
राष्ट्र, बहुदलीय लोकतन्त्र र पार्टी नरहने हो भने सबै खरानी हुने चेतावनी दिँदै उनले सामाजिक सञ्जालमा हुने गालीगलौज र दोहोरी बन्द गर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया